ब्याज आम्दानीसँगै घट्यो स्ट्याण्डर्ड चार्टर्डको नाफा
काठमाडौं,२० साउन । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा केहि घटेको छ ।
अघिल्लो आ.व.को अन्त्यसम्ममा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको यस्तो नाफा ४.५१ प्रतिशत कमि आएको हो ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको छ । साथै, बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ६६ पैसा कमि आएर ३५ रुपैयाँ ९ पैसामा भएको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ ।
यस बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्