आस्माकुमारी केसीले जितिन ‘मिस नेपाल २०२४’ को उपाधि

काठमाडौं, २० साउन। आस्माकुमारी केसीले ‘मिस नेपाल २०२४’ उपाधि जितेकी छन् । शनिबार हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्मा ‘मिस नेपाल २०२४’ को उपाधी हात पोरेकी हुन् । उनीसँगै ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि करुणा रावत र ‘मिस नेपाल अर्थ’को उपाधि सुमना केसीले जितेकी छन् ।

२६ वर्षीया आस्माकुमारी उद्यमी तथा ‘सोसल वर्क’की विद्यार्थी हुन् । ‘सोसल वर्क’मा स्नातक गरेकी उनी ‘इम्पोर्ट डिस्ट्रिब्युसन एक्सपोर्ट’को व्यवसायमा सक्रिय छिन् । १८ वर्षको उमेरमै आस्माले अनलाइन व्यापार सुरु गरेकी थिइन् ।

मिस नेपालको यात्रा तय गर्न आफूले थुप्रै चुनौती सामना गर्नुपरेको उनी सुनाउँछिन् । यो यात्रामा परिवारले पनि उत्तिकै साथ र सहयोग गरेको उनको भनाइ छ । परिवारका सदस्यले उनलाई मिस नेपालमा जान भनिरहन्थे । यसबीच उनले मिस नेपालको मञ्चका लागि आफूलाई तयार गरिन् र उपाधि जित्न सफल भइन् ।

मिस नेपालमा सहभागी भएपछि आफ्नो व्यक्तित्व विकास भएको उनको भनाइ छ । अब ‘मिस वर्ल्ड’मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नु आफ्नो प्रमुख जिम्मेवारी भएको उनी ठान्छिन् । ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई आफ्नोतर्फबाट उत्कृष्ट रूपले प्रस्तुत गर्न प्रयास गर्नेछु,’ उनले भनिन्, ‘मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व असाध्यै राम्रो भइरहेको छ । मभन्दा अघिका मिस नेपालको पाइला पछ्याउँदै मिस वर्ल्डमा नेपालबाट प्रतिनिधित्व गर्नेछु ।’

यो वर्ष २६ सुन्दरीहरू सौन्दर्य प्रतियोगितामा सहभागी थिए । शुभेच्छा कार्की, आस्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दीक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल, श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।

कार्यक्रममा ११ निर्णायकहरू डा. रूपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्माचार्य, साहारा बस्नेत राणा, दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे र सकुन भण्डारी थिए । यो वर्ष मिस वर्ल्डमा भने मिस नेपाल २०२३ का श्रीच्छा प्रधानले नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।
कार्यक्रममा सुरसुधाले प्रस्तुति दिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि उपस्थित थिइन् ।

प्रतियोगिताबीच ‘रियल मिस पपुलर च्वाइस’को उपाधि जित्दै अञ्जना पुन सिधै सेमी फाइनलमा प्रवेश गरेकी थिइन् । उनले नै ‘मिस डिलाइटफुल ह्याप्पी इन्टिलेजेन्ट’को उपाधि पनि जितेकी छन् । त्यस्तै, ‘डाबर हनी मिस फिटनेस क्विन’ उर्जा नेवाले जित्दा ‘मिस हेल्दी स्किन’ सिम्रिका मानन्धरले जितिन् । त्यसरी नै ‘वात्सल्य मिस भिजिनरी’को उपाधि साइरा खड्का, ‘मिस कन्फिडेन्ट’को उपाधि प्रेभिता स्वाँर, ‘मिस हाइजिन’को उपाधि सुमना केसी, ‘मिस ग्रीन भिजनरी’को उपाधि भने अम्बिका रानाले जितिन् । उपाधि जित्ने सुन्दरीहरूलाई प्रतिव्यक्ति २० हजार नगद उपहारस्वरूप प्रदान गरिएको छ ।

‘मिस फोटोजेनिक’को उपाधि श्रद्धा सुमन सिलवालले जितिन् भने ‘फेस अफ द इयर’ आस्माकुमारी केसी बनिन् । त्यस्तै,‘द काठमान्डु पोस्ट मिस इन्टेलेक्चुअल’ उपाधि दीक्षा अवस्थीले जितिन् । उनलाई कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ म्यानेजर सागर केसीले उपाधि हस्तान्तरण गरे । ‘मिस ब्युटी विथ अ प्रपोज’को उपाधि सुमना केसी र ‘वुमन विथ विस’को उपाधि किम्ती श्रेष्ठले पाइन् ।

प्रतिक्रिया दिनुहोस्