हिजबुल्लाह र हमासका प्रमुख कमाण्डरको मृत्यु पछि मध्यपूर्वमा तनाव थप बढ्ने अनुमान
काठमाडौं,१७ साउन । इजरायलले हमासका प्रमुख कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप बढ्न सक्ने तर्फ चिन्ता बढ्दै गएको छ । मध्यपूर्वमा हमास र इजरायल अब आमने सामने भएको भन्दै संयुक्त राष्ट्रसंघले तनाव बढ्ने सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
इजरायल र हमासबीच युद्धविरामको प्रयास भइरहेका बेला इरानमा हमासका शीर्ष कमाण्डर स्माइल हानिया र लेबनानमा हिज्बुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रमाथि हमला भएको थियो । रिपोर्टहरुमा भनिए अनुसार ती दुबै शीर्ष कमाण्डहरुको मृत्यु भइसकेको छ । यसले गाजा र बेरुतमा तनाव त बढ्छनै यस संगै मध्यपूर्वभरी यसको असर देखिने लगभग निश्चित जस्तै भएको छ ।
हमास, हिजबुल्लाह र उनीहरुलाई साथ दिँदै आएको इरानले यो आक्रमणको उचित जवाफ दिने घोषणा गरिसकेका छन् । त्यसैले मध्यपूर्वमा तनाव बढ्ने भन्दै चिन्ता व्यक्त भएको हो ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजेरिकले बुधबार न्यूयोर्क मुख्यालयमा नियमित पत्रकार सम्मेलनमा मध्यपूर्वमा तनावको अवस्था खतरनाक हुन सक्ने बताएका छन् ।
गाजा क्षेत्रमा युद्धविराम गर्ने, इजरायली बन्धकहरुलाई रिहा गराउने, गाजा क्षेत्रमा प्यालेस्टिनी जनतालाई मानवीय सहायता बढाउने शान्ति बहाल गराउने प्रयास भइरहेका बेला ती लक्ष्य प्राप्तिलाई थप कमजोर बनाउने प्रयास भइरहेको प्रवक्ता दुजरिकको भनाइ छ ।
इजरायलले गत मंगलबार लेबनानको राजधानी बेरुतको एक घना बस्ती भएको क्षेत्रमा हमला गरेको थियो । उक्त हमलामा हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्र मारिएका थिए । त्यस्त, बुधबार बिहान इरानको राजधानी तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियामाथि आक्रमण भएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् । तर स्थिति अत्यन्त संवेदनशील रहेकाले केवल संयमता मात्रै पर्याप्त छैन । महासचिव गुटेरेसले मध्यपूर्वमा दीर्घकालीन शान्ति र स्थीरताका लागि तनाव अन्त्यका लागि काम गर्न पनि सबै पक्षसंग आह्वान गरेका छन् । उनले भनेका छन हिंसा समस्याको समाधान होइन समाधान वार्ता हो त्यसैले संयमताका लागि जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्