सेयर बजारमा बुधबार ऐतिहासिक रेकर्ड

काठमाडौं, १६ साउन । सेयर बजारले बुधबार ऐतिहासिक रेकर्ड राखेको छ । सेयर कारोबार रकमले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यस दिन झन्डै २२ अर्ब (२१ अर्ब ९१ करोडभन्दा बढी) को सेयर कारोबार भई अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । यसअघि उच्चतम रेकर्ड २०७८ साउन १५ गते बनेको थियो, जुन दिन २१ अर्ब ५३ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको थियो ।

आज बुधबार नेप्से सूचक ६४.२५ विन्दुले बढेर २७६०.९० अंकमा पुगेको छ । १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी बढेको छ ।

लामो समयसम्म सिथिल भएको सेयर बजार केही समययता उच्च वृछि हुन थालेको छ । सबै समूहका सूचक र सेयर मूल्य बढेका छन् । नेप्से सूचक पनि बिहीबार इन्ट्रा डे लाइ आधार मान्दा झन्डै २८ सय नजिक पुग्यो । छोटो समयमै बजारमा व्यापक वृद्धि छाएको हो ।

बजार बढ्दै जाँदा आम लगानीकर्ताको मनोबल पनि सोही हिसाबले वृद्धि हुँदै गएको देखिन्छ । दिनहुँ बजार बढ्न थालेपछि एकपटक बेचेर बसेकाहरुले समेत पस्नः खरिद गर्न थालेका ब्रोकरले जनाएको छ ।

मैदिैक नीति र यसअघि ब्याजदर घटेको महिनौंसम्म पनि बजार वृद्धि हुन सकेको थिएन । प्रणालीमा तरलता थुप्रिएको थुप्रियै थियो । तर पनि नेप्से अघि बढ्नै सकेको थिएन । किनभने आम लगानीकर्ताको मनोबल उच्च हुनै सकेको थिएन । जब नयाँ सरकार गठन भयो अनि सरकारले पुँजी बजार सुधारप्रति प्रतिबद्धता जनायो त्यसपछि मात्र लगानीकर्तामा उच्च मनोबल देखिएको हो ।

गभर्नदेखि अर्थमन्त्री र प्रधानमन्त्रीसम्मले सेयर बजार विकास र सुधारमा प्रतिबद्धता जनाएका छन् । नीतिगतरुपमा व्यवस्थाहरु खुकुलो गरिएको छ । मौद्रिक नीतिले कर्जा लगानी थप विस्तार गर्ने नीति लिएको छ । संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाइएको क्याप खुला गरिएको छ ।

बैंकहरुले साउनमा पाकेको ब्याजसमेत जोडेर गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न पाउने भएका छन् । यी सबै प्रावधानहरुले गर्दा सेयर बजारका लगानीकर्ताको मनोबल उच्च देखिएको हो ।
यस दिन ३३२ कम्पनीको ५ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र शिवम् सिमेन्ट्स परेका छन् ।

यद्यपि, बजार सधैं एकोहोरो ढंगलेमात्र अघि बढ्दैन । बेलाबेलामा साना–ठूला करेक्सनहरु आइरहन्छन् । यो कुरालाई समेत आम लगानीकर्ताले ख्याल गर्नुपर्ने हुन्छ ।
बुल बजारमा सबै किसिमका कम्पनीहरु बढ्ने भए पनि लगानीकर्ता भने सधैं सचेत हुन सक्नुपर्छ । सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरु छानेर लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । लगानीसम्बन्धी योजना र रणनीति तय गर्न सके झन् राम्रो हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्