तीन प्रतिशत मात्रै थ्रेसहोल्ड लाई बढाएर दश प्रतिशत बनाइने : शंकर पोखरेल

काठमाडौं,१५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय दल बन्न तीन प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था सुधार्न आवश्यक रहेको बताएका छन् ।

महासचिव पोखरेलले प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा थ्रेसहोल्डको तीन प्रतिशतको व्यवस्थाले गर्दा राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताएका हुन् ।

उनले थपे पार्टीहरू उम्मेदवार हुँदा डेढ प्रतिशत भोट ल्याएपछि प्रादेशिक पार्टी हुने र तीन प्रतिशत मत ल्याएमा राष्ट्रिय पार्टी हुने व्यवस्था सही नभएको उनले बताए । व्यक्तिले दश प्रतिशत मत ल्याएन भने जमानत जफत हुन्छ,’ उनले भने, ‘निर्वाचन कानुनको यो व्यवस्था मिलेको छैन ।

साना पार्टी रिसाउँछन् भनेर संविधानमा भएको नराम्रो व्यवस्था हटाउन पछि पर्न नहुने बताए । लोकतन्त्रलाई सही बाटोमा लैजानका लागि साना दल हैन जनता रिसाउँछन् भन्न सक्नुपर्ने तर्क उनको थियो ।

लोकतन्त्रको स्थायित्वका लागि दलहरू जिम्मेवार र बलिया हुनुपर्ने उनको भनाइ थियो । याी यस्तै अव्यवस्था हटाउनको लागि नै प्रमुख दुई दलहरू मिलेको उनले सो कार्यक्रममा बताए ।

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीतिक दल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलको मत थियो ।

नेताको टाउको जोडेर गरिने एकता दिगो नहुने वामपन्थीहरूका बीचमा एकताको कथा असफल भइसकेको भन्दै अब फेरि पुरानै बाटोबाट अघि बढ्न नसकिने बताए ।

कम्युनिस्ट विचारको एकता आवश्यक हो,कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण जरूरी रहेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्