बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदै

काठमाडौं,१५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । प्रदेशसभाको आज बस्ने बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची छ । बागमती प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले यस सम्बन्धी जानकारी दिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

बागमती प्रदेशसभाको ११० प्रदेशसभा सदस्य मध्ये नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

बागमतीमा नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट बहादुरसिंह लामा मुख्यमन्त्री बनेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्