दाङमा ट्रकको ठक्करबाट एकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग बन्द

काठमाडौं,१५ साउन । दाङमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले लमही-भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा स्थानीय फलफूल व्यापारी लोकप्रकाश भट्टराईको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

भट्टराई राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका थिए । अन्दाजी ५० वर्षका भट्टराईलाई बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । उनको तत्कालै घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अमर बहादुर माझीले जानकारी दिए ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीमाथि कारवाही को माग राख्दै पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् । राजमार्ग बन्द हुँदा भालुवाङ तनावग्रस्त बनेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो राजमार्ग भएर यात्रा गर्ने यात्रु अलपत्रमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्