उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे निर्माणाधीन संसद भवनको अवलोकन
काडमाडौं, १५ साउन । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् ।
सिंहदरबार परिसरमा निर्माण भइरहेको संसद भवनको मन्त्री सिंहले आज बिहान अनुगमन गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । साथै उनले आगामी हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिए ।
संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भवन निर्माणको काम भइरहेको छ । करिब पाँच अर्ब ३० करोड रुपैयाँमा भवन निर्माणको काम अघि बढाइएको थियो ।
सिंह दरबार परिसरको उत्तर पूर्व भागको १ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहनेछ । भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियो ।
संघीय संसदको आफ्नै भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गरि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्