संसदीय सुनुवाइ समितिबाट प्रधानको नाम निर्वाचन आयोगको आयुक्तको लागि अस्वीकृत

काठमाडौं,१४ साउन । संसदीय सुनुवाइ समितिको बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न बसेको बैठकले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठक बस्नुअघि सोमबार दिउँसो प्रधानले आफ्नो नाम फिर्ता लिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलाई जानकारी गराएका थिए ।

प्रधानले नै नाम फिर्ता लिएपछि संसदीय सुनुवाइ समितिले आयोगको आयुक्तमा उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको र उजुरीकर्ताले यौन दुव्र्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन । तर पछि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन् ।

यौन दुव्र्यवहारको मुद्दामा मिलापत्र गरेका प्रधानलाई उच्च नैतिक चरित्र आवश्यक हुने निर्वाचन आयोगमा नियुक्ति गर्न संसदीय सुनुवाइ समितिका सांसदहरू हच्किएका थिए । धेरै सांसदहरु उनको नाम अनुमोदन नगर्ने अडान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्