भेनेजुएलाको राष्ट्रपतिय निर्वाचनमा मादुरो विजयी

काठमाडौं,१४ साउन । भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित भएका छन् ।

नेशनल इलेक्टोरल काउन्सिल (सीएनई) का प्रमुख एल्विस अमोरोसोका अनुसार हालसम्म भएको ८० प्रतिशत मतगणनामा मादुरोको पक्षमा ५१ प्रतिशत मत परेको छ । जबकि उनका निकटतम् प्रतिद्वन्द्वीले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । सीएनई प्रमुख अमोरोसो राष्ट्रपति मादुरो निकट मानिन्छन् ।

भेनेजुएलाका नागरिकहरूले २५ वर्षदेखिको समाजवादी पीएसयूभी पार्टीको शासनबाट मुक्त हुने अपेक्षा गरेका थिए । भेनेजुएलाका विपक्षीहरूले सीएनईको घोषणालाई धोखाधडीको रूपमा व्याख्या गर्दै परिणाम खारेज गर्न माग गरेका छन् । उनीहरूले परिणामलाई चुनौती दिने चेतावनीसमेत दिएका छन् ।

राष्ट्रपति मादुरोलाई हटाउने प्रयासमा विपक्षी दलहरू गोन्जालेजको पक्षमा एकजुट भएका छन् । मतदान हुन भन्दा केहि अघि गरिएको जनमत सर्वेक्षणले गोन्जालेजले राष्ट्रपति निर्वाचन जित्ने प्रक्षेपण सार्वजनिक भएको थियो ।

मादुरोले आफ्नो देशको आर्थिक समस्याको लागि अमेरिकालाई दोष लगाएका छन् । उनले अमेरिकासँग चिसो सम्बन्ध भएका चीन, इरान र रसियासँग घनिष्ठ सम्बन्ध बनाएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सरकारी बफादारहरूको वर्चस्व रहेको राष्ट्रिय निर्वाचन परिषदको नतिजामा शंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘घोषित नतिजाले भेनेजुएलाका जनताको इच्छा वा मतलाई प्रतिबिम्बित गर्दैन ।
भेनेजुएलाको निर्वाचन परिणामबारे आलोचना र विवाद भएको यो पहिलो पटक होइन । सन् २०१८ मा पनि मादुरो निर्वाचिन हुँदा व्यापार विरोध भएको थियो ।

भेनेजुयलाको मतदान विद्युतीय हुन्छ । मतदाताहरूले आफ्नो मनपर्ने उम्मेदवारलाई भोटिङ मेसिनमा भोट दिन्छन् । तर मेसिनले कागजी रसिद पनि छाप्छ र त्यसलाई मतपेटिकामा राखिन्छ । त्यसपछि परिणाम सीएनई मुख्यालय पठाइन्छ ।

प्रतिक्रिया दिनुहोस्