सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको सूचि

काठमाडौं,१४ साउन । सहकारी छानबिन संसदीय समितिले बिभिन्न समयमा सहकारीको रकम हिनामिना गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

छानबिन समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो ।

सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ । त्यस्तै, सुमेरु सहकारीको रकम अपचलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

यस मध्ये कुन कुन अमेरिका, बेलायत, मलेसिया, भारत र कतिको स्थिति अज्ञात रहेको हुनाले उहाँहरूलाई खोज्न, स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन माननीय गृहमन्त्रीलाई आग्रह गरेका छौं । अपचलनमा संलग्नलाई छानबिनको दायरमा ल्याएपछि मात्र छानबिन एउटा निष्कर्षमा पुग्नसक्छ, समिति सभापति सूर्य थापाले बताए ।

समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको छ । बाहिर भएका व्यक्तिहरूलाई बोलाएर छलफल गर्छौं । कारागारमा भएकाहरुसँग सोधपुछ गर्न आवश्यक जनशक्ति र समय प्रबन्ध मिलाउन गृहमन्त्री र सचिवलाई भनेका छौं ।

प्रतिक्रिया दिनुहोस्