गोविन्दराज जोशी भ्रष्टाचारी ठहर, सर्वोच्च अदालतले ६९ लाख जरिवाना र ९ महिना कैदको फैसला सुनायो
काठमाडौ,१३ साउन । सर्वोच्च अदालतले गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६९ लाख जरिवना र ९ महिना कैद सजाय सुनाएको छ ।
धेरै लामो समयसम्म पछि यो मुद्दाको फैसला भएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले यो फैसला सुनाएको हो ।
न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति थुपारेको भन्दै त्यति नै जरवाना तिराउने फैसला गरेको हो ।
सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त इजलासले जोशीलाई ९ महिना कैद सजाय पनि सुनाएको छ । जेठ १ गतेदेखि अन्तिम सुनुवाइ गरिरहेको यो मुद्दामा आइतबार निर्णय सुनाएको हो । जोशीको मुद्दामा प्रतिवादी बनाइएका दुई जना ताराराज पाण्डे र बासुदेव पन्तलाई इजलासले सफाई दिएको छ ।
२०४८ सालदेखि २०५९ सालसम्म विभिन्न सरकारीरसार्वजनिक पदमा रहँदा जोशीले स्रोत नखुलेको २ करोढ १६ लाख बराबरको सम्पत्ति थुपारेको ठहर गरेको थियो ।
विभिन्न उच्च पदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न भन्दै तत्कालीन सरकारले सर्वोच्च अदालतका न्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा आयोग गठन गरेको थियो । सो आयोगले जोशीलगायतको सम्पत्तिमाथि विस्तृत अनुसन्धान गर्नु पर्ने प्रतिवेदन दिएको थियो । उक्त प्रतिवेदनका आधारमा अख्तियारले २०६० सालमा जोशीको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानबाट उनले कानुनविपरित अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको थियो । उनले तीन करोड ९३ लाख ६२ हजार बराबरको सम्पत्ति भ्रष्टाचार गरेको दाबी अख्तियारको थियो । तर विशेष अदालतले भने हदम्यादको कारणले सुरूमा जोशीलाई सफाइ दियो । अख्तियार विशेषविरूद्ध सर्वोच्च गयो ।
सर्वोच्चले भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने भन्दै तथ्यभित्र प्रवेश गरेर फेरि सुनुवाइ गर्न जोशीको मुद्दा विशेषमै फर्काइदियो ।
विषेश अदालतका तत्कालीन अध्यक्ष न्यायधीश गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
जोशीले परिवारको नाममा जोडेको सम्पत्ति पनि जफत गर्न विशेषको फैसलामा भनिएको थियो । त्यसपछि जोशीले २०६९ साल फागुनमा सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्