गुराँस लघुवित्तको नाफा उल्लेख्य बढ्यो
काठमाडौं, १३ साउन। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ४४९.११ प्रतिशत बढी हो । अघिल्लो आ.व.को अन्त्यसम्ममा लघुवित्तले १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४७.९४ प्रतिशत र अन्य सञ्चालन आम्दानी १०२.५३ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४९।७४ प्रतिशत बढेको छ । लघुवित्तको खुद ब्याज आम्दानी बढेको र खराब कर्जा घटेकाले खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ६.३६ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १ हजार ४१८.२४ प्रतिशत बढ्न पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २३ रुपैयाँ ९५ पैसा बढेर २५ रुपैयाँ ६० पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.१२ गुणा रहेको छ ।
चुक्ता पूँजी १० करोड १४ लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्