नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर अनुसन्धानका लागि थुनामा रहेका बेचन झाको निवेदन न्यायाधीश ढुङ्गानाको इजलासमा पेशी

काठमाडौं, १० साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको छ।

न्यायाधीश ढुङ्गानाको एकल इजलासमा यो निवेदन दोस्रो नम्बरमा पेशी रहेको छ। जिल्ला अदालत काठमाडौँले सङ्गठित अपराधमा अनुसन्धानका लागि पटक–पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

उक्त निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।अनुसन्धानकै क्रममा झाको बयान सकिएको छ।

प्रहरीले उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको छ।

सङ्गठित अपराधमा अनुसन्धानका लागि लामो समय पाउने र यसअघि पनि यही अपराधमा अभियोग पत्र दायर भएकाले प्रहरीले सोहीअनुरूप अनुसन्धान अघि बढाएको छ। सङ्गठित अपराध गर्ने उद्देश्यले नेपालभित्र वा नेपाल बाहिर रहे भएको सङ्गठित तीन वा तीनभन्दा बढी व्यक्तिहरूको समूह सम्झनुपर्छ भनी सङ्गठित अपराध निवारण ऐनमा भनिएको छ । सोही ऐन अनुसार उनीहरूमाथि अनुसन्धान चलिरहेको छ।

जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि थुनामा पठाएको छ । जिल्ला अदालतबाट छुट्ने सम्भावना न्यून भएपछि झाको परिवार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेको हो । झाका छोराले दायर गरेको निवेदनमा बुवाले आफू अनुसन्धानलाई सहयोग गर्ने देखि बिरामीसम्म रहेको दाबी बन्दीको निवेदनमा गरिएको छ। यो प्रकरणमा यसअघि एउटा मुद्दा जिल्ला अदालत काठमाडौँमा दायर भएको छ। उक्त मुद्दामा पूर्वमन्त्रीहरु बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे लगायतलाई विपक्षी बनाइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई पक्राउ गरेको थियो । उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट गर्दै नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्