निर्मला पन्त हत्याको ६ वर्ष पूरा अनुसन्धान जारी, नतिजा भने शुन्य
१० साउन, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त-१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गयो । उनी जस्तै थुप्रै घाईते भए कतिले प्रसाशनिक झमेला भोगे तर सो हत्याको सम्बन्धमा कुनै प्रगति भएन ।
यो ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । गृह प्रशासन ‘अनुसन्धान जारी छ, अत्यन्त नजिक पुगेका छौं’ भन्ने रेडिमेट जवाफ मात्रै दिन्छ । यो भन्दा अगाडी भन्नको लागि उ संग केहि छैन ।
निर्मलाको हत्या भएदेखि अहिलेसम्मको अवधिमा पाँच जना रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, फेरि रवि लामिछाने र हाल रमेश लेखक गृहमन्त्री भए । नेपाल प्रहरीमा ९सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह र हालका बसन्त कुँवर० आईजी भए । हरेक गृहमन्त्री र प्रहरी प्रमुखले निर्मला पन्तको हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्ने बताउन छाडेका छैनन् ।
अझ लामिछानेले त ११ पुसमा पहिलो निर्णय नै गृहमन्त्री हुँदा पन्त हत्यारा पत्ता लगाएर कारबाही गर्ने गरेका थिए । उनी दोस्रो पटक गृहमन्त्री भएर पनि बाहिरिइसके, तर अवस्था उही छ । संयोग भनौं, निर्मलाको बलात्कार र हत्यापछि भएको आन्दोलनमा समेत सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री छन् ।
पन्तको हत्या भएपछि भएको सडक आन्दोलनमा कञ्चनपुरका लेखक समेत सहभागी भएका थिए । २१ असोज २०७५ मा काठमाडौंकै एक कार्यक्रममा लेखकले हत्याराले संरक्षण पाइरहेको बताएका थिए । ‘घटनाको प्रकृतिमाथि केही विसंगतिहरू देखिएका छन्, त्यो सत्य पनि हो’ त्यसबेला उनले भनेका थिए, ‘तर प्रमाण मेटाउने काम पनि भएको हुँदा अपराधीले संरक्षण पाइरहेको छ ।’
छोरीको न्यायका लागि आन्दोलनमा उत्रिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्त ।
अब हत्यारा पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने जिम्मेवारी लेखकको काँधमा थपिएको छ । अझ निवर्तमान गृहमन्त्री रवि लामिछानेले जाँदाजाँदै निर्मला पन्तको हत्याराको अत्यन्त नजिक पुगिसकेको दाबी गरे ।
घटनाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र स्थानीय प्रहरीका अधिकारीहरू भने यसो भनिहाल्ने अवस्थामा देखिएनन् ।
उनीहरूका अनुसार यसअघि पक्राउ परेर डीएनए नमिलेका कारण छुटेका दिलीप सिंह बिष्टबारे केही उजुरी आएको छ । ‘बिष्टले हालसालै नराम्रो दृष्टिले हेर्दै गलत हर्कत गरेको भनेर केही महिलाले प्रहरीमा जानकारी गराएका छन्, एक अनुसन्धान अधिकृत भन्छन्, ‘यसअघि बिष्ट त्यस्तो व्यक्ति होइन भन्ने थियो । तर अहिले बिष्ट विरुद्ध महिलाले गुनासो गरेका छन् ।’ तर यतिका आधारमा प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीका अनुसार निर्मलाको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डीएनए जाँच गरिएको छ ।
बहालवाला प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट र उनको छोराको समेत डीएनए जाँच गरिएको थियो । एउटै घटनाको अनुसन्धानका लागि यति धेरै मान्छेको डीएनए जाँच गरिएको यो पहिलो रहेको प्रहरी अधिकारीहरू बताउँछन् । तर अहिलेसम्म कसैसँग पनि डीएनए म्याच गरेको भएको छैन ।
प्रहरीले लामो समयसम्म डीएनए जाँचलाई प्राथमिकतामा राख्यो । पक्राउ परेका संदिग्धहरूको डीएनए स्याम्पल निकालेर नेपाल प्रहरीकै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरियो । तर जति गरिएको डीएनए जाँच पनि नमिलेपछि मन्त्रीस्तरीय निर्णयबाट २६ भदौ २०७६ मा डीएनएको वैधता नै जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक समिति गठन गरिएको थियो ।
समितिले ५ कात्तिकमा बुझाएको प्रतिवेदनमा डीएनए संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको औंल्याउँदै डीएनए बाहेकलाई पनि आधार मानेर अनुसन्धान गर्नुपर्ने सुझाव दिएको थियो । त्यसपछि दुवै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो एक वर्षमा थप एक जनाको डीएनए जाँच गरिएको छ ।
यस छ बर्षका अवधिमा ६५५ जनासंग प्रत्यक्ष सोधपुछ गरिएको छ, १२४ जनाको डिएनए जाँच गरि सकिएकोछ, छ बटा समिती पनि बनिसके, प्राविधिक जाँच पनि भएको छ । तर पनि घटनाको निचोडमा कहिले पुग्न सकिन्छ यसको जवाफ दिन सक्ने अवस्थामा कहिले पुग्ने हो, जवाफ उनुत्तरित छ ।
प्रतिक्रिया दिनुहोस्