नाफासँगै बढ्यो कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी

काठमाडौं,९ साउन । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बढेको छ ।

गत आर्थिक वर्षको मसान्तसम्ममा बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.४२ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.०८ प्रतिशत र सञ्चालन मुनाफा ५३.०८ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्ष ५२ करोड २६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्षमा घटेर ३० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण खुद नाफा र सञ्चालन मुनाफा दुबै बढेको हो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३७ पैसा बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ । त्यस्तै, बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ ।

३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्