सेयर बजार २८ महिनाकै उच्च विन्दुमा, १४ अर्बमाथिको कारोबारसंगै बजार पुँजीकरण ४० खर्ब नाघ्यो

काठमाडौं,८ साउन । मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । त्यसैगरि, नेपाल स्टक एक्सचेन्जको बजार पुँजीकरण ४० खर्ब ६७ अर्ब ४२ करोड रुपैयाँ भन्दा धेरै पुगेको छ ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुग्यो । २२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।

बैंकिङ २।३९, विकास बैंक २.९६, फाइनान्स २.५३, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बीमा ४.४५, उत्पादन ३.७७, माइक्रोफाइनान्स १.३९, निर्जीवन बीमा ४.३७, अन्य १.७३ र व्यापार समूह ५.०६ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च ६५९१ विन्दुमा पुगेको छ ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, साहस ऊर्जा र हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । युनिभर्सल पावरको ९.८ तथा पिपुल्स पावरको मूल्य ८.७ प्रतिशत बढ्यो ।

त्यस्तै, नेप्सेले ३२०० विन्दुको हाई बनाउदा पुँजीकरण ४४ खर्ब रुपैयाँ भन्दा धेरै रहेको थियो । पछि मार्केटमा गिरावट आएसँगै पुँजीकरण २७ खर्बसम्म झरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्