बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाले प्रदेश प्रमुख समक्ष दाबी पेश
काठमाडौं,८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् ।
नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।
मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।
सोमबारनै लामाले मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम तय भएको थियो । मन्त्रालय भागबण्डामा सहमति हुन बाँकी र एमालेभित्र मन्त्री छनौटको समस्या कारण दलका नेता जगन्नाथ थपलियासहितका सांसदहरू काठमाडौं हिँडेपछि दाबी पेश मंगलबारका लागि सारिएको थियो ।
बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस-एमालेबीच सहमति भइसकेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको हो ।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् । प्रदेश सभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्