अमेरिकी राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने
काठमाडौं,७ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । बाइडेनले निर्वाचन हुनु चार महिनाअघि उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् ।
बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले उनको उमेर र क्षमतालाई लिएर प्रश्न उठाउने जसका कारण चुनाव जित्ने भन्दै उनको आफ्नै डेमोक्रेटिक पार्टीबाट उनलाई उम्मेदवारी फिर्ता लिन तीव्र दबाब थियो ।
गत महिना भएको राष्ट्रपतीय बहसमा अत्यन्तै फितलो प्रदर्शन गरेपछि उनी उम्मेदवार कायमै रहे चुनाव हार्ने निष्कर्षमा डेमोक्रेटिक पार्टीका नेताहरु पुगेका थिए । त्यही बीच उनले आइतवार उम्मेदवारी त्याग्ने घोषणा गरेका छन् ।
‘मैले उम्मेदवारी फिर्ता लिनु र बाँकी कार्यकाल राष्ट्रपतिको भूमिकामा केन्द्रित हुनु नै म, मेरो पार्टी र मेरो देशको को सर्वोत्तम हितमा हुनेछ,’ उनले आफ्नो वक्तव्यमा भनेका छन् ।
त्यसैगरि, राष्ट्रपतिको उम्मेदवारका रुपमा कमला ह्यारिसलाई समर्थन पनि गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा ह्यारिस नै अघि हुनेछिन् । तर, उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । निर्वाचन आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने छ । चुनाव अति नै नजिक आईसकेको सन्दर्भमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न परिचित अनुहारका रुपमा ह्यारिस नै उपयुक्त पात्र हुने अनुमान गरिएको छ ।
सन् २०२० का कमला ह्यारिसलाई उपराष्ट्रपतिमा छनोट गरेर सबैभन्दा राम्रो निर्णय थियो । यसपटक राष्ट्रपतिको उम्मेदवारका रुपमा उनलाई मेरो पूर्ण समर्थन र अनुमोदन रहन्छ, उनले घोषणा गरेका छन् ।
डेमोक्रेटिक पार्टीका तर्फबाट कमला नयाँ उम्मेदवारका रुपमा आउने अनुमानसंगै ट्रम्पले चुनावी भाषणका कार्यक्रमा उनीमाथि आक्रमण थालिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्