अमेरिकी सेयर बजारमा २ महिनायताकै सबैभन्दा ठूलो गिरावट

काठमाडौं । शुक्रबार १९, जुलाइ २०२४ का दिन विश्वभर आइटी प्रणालीमा समस्या आउँदा अमेरिकी सेयर बजारमा पनि उच्च गिरावट आएको छ । शुक्रबार साइबर सुरक्षा कम्पनी क्लाउडस्ट्राइकको एक सफ्टवेयर अपडेटका कारण माइक्रोसफ्टका उपकरणहरुमा समस्या आउँदा विश्वभर बैंक, एयरलाइन्स, मिडिया, टेलिकमलगायत क्षेत्रहरु ठप्प जस्तै भएको थियो । यसको असर आजको सेयर बजारमा पनि देखिएको हो ।

अमेरिकी सेयर बजार सूचकहरु एस एन्ड पी ५०० र नास्ड्याक कम्पोजिटले गत अप्रिल महिनापछिको सबैभन्दा ठूलो साप्ताहिक गिरावट व्यहोरेकोे छ । आफ्नो एक सफ्टवेयर अपडेटका कारण विश्वभर समस्या आएपछि साइबर सुरक्षा कम्पनी क्लाउडस्ट्राइकको सेयर भाउमा पनि ११ प्रतिशतले गिरावट थियो । यस्तै, माइक्रोसफ्टको भाउ पनि ०.७० प्रतिशतले घटेकोे छ ।

शुुक्रबार वालस्ट्रीटको डर मापन गर्ने सूचक गत अप्रिलको अन्तयताकै उच्चतम विन्दुमा पुगेको थियो । शुक्रबारको आइटी समस्याले सेवा क्षेत्रमा पनि आपूर्ति श्रंखला प्रभावित हुने प्रष्ट पारेको विश्लेषकहरुले बताएका छन् । शुक्रबार डाउ जोन्स इन्डस्ट्रियल एभरेज ३७७ अर्थात ०.९३ प्रतिशतले घटेको थियो ।

यस्तै, एस एन्ड पी ५०० सूचक ३९.७१ अंक अर्थात ०.७१ प्रतिशत र नाडस्डाक कम्पोजिट १४४ अंकले अर्थात ०.८१ प्रतिशतले घटेको छ । यता, विश्वका प्रमुख सेयर बजार सूचकांकहरु मापन गर्ने एमएससीआईको विश्व सेयर बजार सूचकांक पनि ६.५८ अंक अर्थात ०.८० प्रतिशतले बघटेको छ ।

यो समस्या समाधान संगै गिरावट लामो समयसम्म नरहने शेयर बजारका जानकारहरु बताउछन् ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्