सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री खुला
काठमाडौं,४ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्नेरगाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने नियमानुसार लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।
साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त गाभिएपश्चात बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको थियो । लघुवित्तको पूँजी संरचना बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो शेयरका लागि लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन पाउने छन् । सो समयसिमाभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि साउन १८ गतेसम्म बढ्न सक्नेछ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
लघुवित्तको चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसा रहेको छ । जसमा संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत अर्थात ६४ करोड ८ लाख १८ हजार ९४३ रुपैयाँ रहनेछ । त्यस्तै सर्वसाधारण शेयरधनीहरुको हिस्सा ३० प्रतिशत अर्थात २७ करोड ४६ लाख ३६ हजार ५२० रुपयाँ रहनेछ ।
प्रतिक्रिया दिनुहोस्