सिमलताल बस दुर्घटना अध्ययन गर्न कार्यदल टोली घटनास्थल चितवनमा

काठमाडौं,२ साउन । चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहाली गर्दानै उक्त घटना अध्ययन गर्न कार्यादल गठन गर्ने बताएका थिए । सो घटना अध्ययन गर्न कार्यादल गठन गरि प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका हो ।

यस कार्यदललाई दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ ।

रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन् । यस घटनाका सम्बन्धमा घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ ।

कार्यदलले आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा सुझाव दिने तथा बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा पनि अध्ययन गर्नेछ । ती दुई बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए । त्यस्तै अरु सबै बेपत्ता भएका छन् भने अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

 

प्रतिक्रिया दिनुहोस्