काठमाडौं महानगरको प्रशंसनिय कार्य, श्रम बैंकमार्फत दियो ९१२ जनालाई रोजगारी
काठमाडौं,१ साउन । काठमाडौं महानगर प्रमुख बालेन शाहले श्रम बैंकमार्फत ९ सय १२ जनाले रोजगारी पाएको जानकारी दिएका छन् । बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत श्रम बैंकमार्फत ३ सय २९ जनालाई निजी तथा ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जानकारी दिएका हुन् ।
महानगरले रोजगारी प्रवद्र्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो ।
त्यसैगरि, केहि अघि महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको पनि उनले जनाएका छन् ।
श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको मेयर बालेनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्