प्रधानमन्त्री ओलीको शपथ ग्रहण आज ११ बजे
काठमाडौं, ३१ असार। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए । त्यसको आधारमा उनी प्रधानम्रन्त्री भएका हुन् ।
प्रधानमन्त्री नियुक्त भएसँग ओलीले मन्त्रिपरिषद् गठनको तयारी थालेका छन् । मन्त्रीको नाम टुंगो लागेपछि छिट्टै मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् । सानो मन्त्रीमण्डल आजै गठन हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भए ।
राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसद्को बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्