प्रधानमन्त्री पीडामा भएकाले धेरै टिप्पणी गर्दिन : प्रमुख सचेतक लेखक

काठमाडौं, २८ असार। नेपाली कांग्रेसमा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पीडामा रहेकाले धेरै टिप्पणी नगर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि शुक्रबार प्रतिनिधि सभामा बसिरहेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा लेखकले उक्त टिप्पणी गरेका हुन् । ‘उहाँका अधिकांश कुरामा हाम्रो विमति छ । अधिकांश कुरामा आफ्ना विचार छन्,’ लेखकले भने, ‘प्रधानमन्त्रीले राखेका कुनै विषयको खण्डनमण्डन, प्रतिवाद, प्रतिउत्तर केही पनि गर्ने पक्षमा छैन । किनभने यसले थप कटुता मात्रै पैदा गर्छ ।’

पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गर्नु भनेको झन् पीडा थप्नु भएकाले आलोचना नगर्ने उनले बताए । प्रतिपक्ष दलको नेताका रुपमा प्रचण्डलाई देखिसकेकाले सदनमा प्रतिपक्षीय शक्ति कमजोर नहुने उनले बताए । प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राखेका अधिकांश विषयमा आफ्नो असहमति रहेको बताएका छन् । तर पीडा र आक्रोशमा रहेका उनीमाथि राजनीतिक टिप्पणी गरेर थप पीडा दिने परम्परा नभएको उनले बताए ।

विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै लेखकले कांग्रेस र एमाले मिल्दा लोकतन्त्र कमजोर हुन्छ कि भन्ने अरुको पनि चिन्ता देखिएको बताए ।

उनले अगाडि भने, ‘आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा देखिसकेको हुँदा अब संसदमा प्रतिपक्ष कमजोर हुन्न कि भन्ने लाग्छ ।’

बरु प्रचण्डलाई ठीक जिम्मेवारी दिन नसक्नु गल्ती हो कि भन्ने लागेको उनले बताए । कांग्रेस प्रमुख सचतेक लेखकले भने, ‘यस्तो जबरजस्त प्रतिपक्ष दलका नेता हुनसक्ने व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर हामीले हिजो–अस्ती प्रतिपक्षलाई कमजोर गर्यौं कि ?’

उनले संघीयता, गणतन्त्र, समावेशीता कमजोर नगर्ने भन्दै गलत भाष्य नबनाउन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्