भोलिबाट हलहरुमा दयाहाङ राईको घरज्वाइँ, फिल्मलाई पर्याप्त शोज, सफल हुनुपर्ने चुनौतीका बीच ओपनिङप्रति फिल्म इण्डष्ट्रिज कै आँखा

काठमाडौं, २७ असार । फिल्म ‘घरज्वाइँ’बाट यस वर्षको असार विदा हुँदैछ । भोलि शुक्रबार (असार २८ गते) देखि प्रदर्शनमा आउन फिल्मको बुधबारबाट देशभरका मल्टीप्लेक्सहरुमा बुकिङ खुल्ला भइसकेको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीका कारण फिल्मले मल्टीप्लेक्सहरुमा पर्याप्त शोज पाएको छ । शोज संख्या हेर्दा फिल्मप्रति हल सञ्चालकहरुले ठूलै अपेक्षा राखेको देखिन्छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेनले दशवटा सहरमा रहेको हलमा गरी ५७ शोज (काठमाडौंमा २१ तथा मोफलसलमा ३७) बाँडेको छ । फिल्मलाई विशेषगरी पूर्वका हलमा बढी शोज दिइएको छ । त्यस्तै, दोस्रो ठूलो चेन आईएनआईले आफ्नो तीनवटा स्टेशनमा गरी फिल्मलाई १२ शोज तथा तेस्रो ठूलो चेन वान् सिनमाजले नयाँ बानेश्वर र कालिमाटी हलमा गरी कूल ९ शोज उपलब्ध गराएको छ ।

काठमाडौंका बिग मुभिज, एफक्युब, बिएसआर, विश्वज्योति सिनेमाज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, कीर्तिपुर सिनेमाज् जस्ता मल्टीप्लेक्सहरुमा पनि फिल्मले सन्तोषजनक शोज पाएको छ । काठमाडौंबाहिरका हलमा पनि फिल्मलाई प्राप्त शोज संख्या राम्रो छ । फिल्मले देशभर झन्डै डेढ सय हाराहारी शो पाएको जनाइएको छ । अब प्राप्त शोजमा दर्शक भर्नुपर्ने चुनौती फिल्मलाई छ ।

‘घरज्वाइँ’को ओपनिङ दयाहाङ र मिरुनाको काँधमा छ । यसअघि चारवटा सफल फिल्म दिइसकेका उनीहरुको क्रेज राम्रो छ । यसको फाइदा फिल्मको व्यापारको पर्नसक्ने विश्लेषण गरिएको छ । र, फिल्मले मगर समुदायको कथा उठाएकाले आदिवासी जनजातिहरु हलमा आउन सक्ने सम्भावना प्रवल देखिन्छ । यसअघि दयाहाङका केही फिल्म यही समुदायले साथ दिँदा सफल भएका थिए ।

अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, कविता आले, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, विवेश बुढा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ । सुसन प्रजापतिको छायांकन रहेको ‘घरज्वाइँ’का निर्मातामा भने जनकघर्ती मगर छन् ।

प्रतिक्रिया दिनुहोस्