विश्वास मत प्रधानमन्त्री प्रचण्डलाई नदिन कांग्रेसको ह्विप

काठमाडौं, २७ असार । नेपाली कांग्रेसले सरकारलाई विश्वास मत नदिने भएको छ।

प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गर्दै विश्वास मत नदिन भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।

शुक्रबारको प्रतिनिधि सभामा कांग्रेस सांसदहरूलाई अनिवार्य उपस्थित हुन पनि कांग्रेसले भनेको छ।

‘असार २८ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ,’ कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्। प्रधानमन्त्रीलाई विश्वास मत पाउन १३८ जना सांसदको साथ चाहिन्छ।

कांग्रेस र एमालेबीत गत असार १७ गते नयाँ समीकरण बनाएर सरकार गठनको सहमति भएको थियो। प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव निर्क्योल भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

प्रतिक्रिया दिनुहोस्