माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं, २६ असार । सत्तारूढ नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरू भएको छ।

सिंहदरबारस्थित पार्टीको संसदीय दल कार्यलयमा बुधबार दिउँसो सवा २ बजेपछि बैठक सुरू भएको हो।

बैठकमा पछिल्लो राजनीतिक परिस्थित र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट लिन लागेको विश्वासको मतबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन्।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेसँगै सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो।

एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। दुई प्रमुख दल मिलेर सरकार बनाउने सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चितप्रायः छ।

कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

यीबाहेक अन्य समसामयिक राजनीतिक परिस्थितबारे छलफलका लागि माओवादी केन्द्रको संसदीय दल बैठक सिंहदरबारमा बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्