एमाले को सचिवालय बैठक बस्दै

काठमाडौं, २५ असार । नेकपा (एमाले) को सचिवालय बैठक मंगलबार बस्दैछ। दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन्।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ।

असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो।
सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन्। उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

कांग्रेससँगको सहमतिपछि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।

तर प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वास मत लिने तयारी गरेका छन्। आजको सचिवालय बैठकमा यसबारे पनि छलफल हुनेछ।

यसैबीच कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरिसकेको छ। पार्टी संसदीय दलको बैठकले यो निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्