रास्वपाको केन्द्रीय समितिको आजको बैठकले महामन्त्री ढकाललाई कारबाही गर्ने

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान बस्दैछ ।बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बिहान ८ बजे बस्न लागेको हो ।

आजको बैठकमा महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने रास्वपाले जनाएको छ ।

महामन्त्री ढकालमाथि आजै कारबाही गर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ । आजको बैठकले ढकालमाथि कारबाहीको निर्णयसँगै नयाँ महामन्त्री र प्रवक्ता चयन गर्न पार्टीले जनाएको छ ।

डा.ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपर्मा एक साता निलम्बनमा राखेको थियो ।
आज बस्ने केन्द्रीय समिति बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो । यस विषयमा पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको छ ।
ढकालको पद पुनःस्थापना नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका छन् ।

अहिले महामन्त्रीका लागि चार जना नेताहरुले आकांक्षा देखाएको स्रोतले जानकारी दियो । आजको बैठकले अन्य विषयमा पनि निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्