५० करोड खर्चिएर मनकामना केवलकार डिजिटलमा रुपान्तरण हुँदै

काठमाडौं, २३ असार । मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ  । हाल एनालग प्रविधिमा चलिरहेको केबुलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो ।

यसको लागत ५० करोड रुपैयाँको हुने बताइएको छ । स्तरोन्नतिका लागि ३१ असारदेखि ५० दिन केबुलकार बन्द हुने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।

डि–कनेक्ट प्रविधि जडान भएसँगै केबुलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट चल्ने बताइएको छ । त्यस्तै, हाल दुई स्टेसनबीच जडित कम्युनिकेसन केबुलसमेत डिजिटल प्रविधिअनुरूप हुने भएकाले सो पनि फेरिने कम्पनीको भनाइ छ ।

केबुलको लम्बाइ ३२ सय मिटरको हुनेछ । साथै, मेन केबुल तार लट्ठा पनि क्रमशः पुरानो भएकाले सोसमेत यसैपटक रोकिएको अवधिमा फेरिनेछ, जसको लम्बाइ करिब ६ हजार पाँच सय मिटरको हुने बताइएको छ । केबुलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक नेपाल आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्