संविधान संसोधन जटिल विषय दुइनेताले अध्यारो कोठामा खुसुक्क गर्नु उचित नहुने भन्दै नेपालले संसद फेस गर्न प्रधानमन्त्रीलाई हौसाए

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताएका छन्।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा पत्रकारहरूसँगको कुराकानीमा बदलिँदो राजनीतिक परिस्थितिमा सरकारले संसदको सामना गर्नुपर्ने आँट राख्नुपर्ने बताएका हुन्।

हामी अहिलेको सरकारमै छौं। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ, उनले भने।

अध्यक्ष नेपालले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन्छु भनेको कुरालाई आफ्नो पार्टीको समर्थन रहेको पनि बताए।

उनले संविधान संसोधन गर्ने भनेर कांग्रेस र एमालेले सरकार बनाउँदा बाँकी दलहरूसँग छलफल नगरेको पनि असन्तुष्टि व्यक्त गरे।

यति महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर अगाडि बढ्नुपर्थ्यो। दुइटाले खुसुक्क गर्नेकुरा उचित होइन। यसलाई जायज भन्न सकिँदैन। कम्तिमा १२।१३ वटा पार्टीहरू छन् तिनिहरूलाई बोलाएर यसो गरौं न भनिएको भए के बिग्रिन्थ्यो, उनले भने।

नयाँ सरकार बनाउने भएपछि कांग्रेसबाट कुनै आग्रह नभएको पनि उनले बताए।

उहाँले केही आग्रह गर्नुभएको छैन। पार्टीको सम्बन्धलाई कायम राख्नुपर्छ भन्ने स्वाभाविक हो। उहाँको निर्णय हामीले भन्ने कुरा आएन हाम्रो निर्णय उहाँले भन्ने कुरा पनि भएन, नेपालले भने।

नेपालले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न र परिवर्तनको गतिलाई तीव्र बनाउन आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्