सहकारी छानबिन संसदीय समितिद्वारा गृह सचिव र आइजिपीसँग सोधपुछ

काठमाडौं, २१ असार । सहकारी संस्थाका बचत दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृह सचिव र प्रहरी महनिरीक्षक (आइजिपी) सँग सोधपुछ गरेको छ।

समितिले शुक्रबारको बैठकमा गृह सचिव एकनारायण अर्याल र आइजिपी बसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको हो। सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतमा केन्द्रित रहेर समितिले उनीहरूसँग सोधपुछ गरेको छ।

समितिले गृह सचिव र आइजिपीलाई शुक्रबारको बैठकमा उपस्थित हुन बिहीबार आग्रह गरेको थियो।

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा सभापति रहेको संसदीय समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई पनि समितिमा उपस्थित हुन आग्रह गरेको छ।

सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै नेपाली कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।

लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका नाम उल्लेख गरेर समितिको कार्यादेश बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्