महामन्त्री ढकाललाई रास्वपाले पदबाट निलम्बन गर्यो

काठमाडौं,२० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरेको हो ।

रास्वपा केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

साथै, केन्द्रीय समितिले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ झाले बताए ।

त्यसैगरि, महामन्त्री ढकालले बैठकमा प्रदर्शन गरेको कार्यशैलीलाई पार्टीले गम्भिर रुपमा लिएको र यस सम्बन्धमा उनलाई कारबाहीको सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ ।

बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

उनले भनेका छन, हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए ।  मैले चाहिं कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ यो सरासर गलत हो ।

ढकालले भने, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’ सभापतिको कथनी र करनीमा तादम्यता नरहेको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्