ललितपुरका मेयर चिरिबाबु महर्जनको डोजर अख्तियारकी आयुक्तको घरमा

काठमाडौं, १९ असार । मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड (पर्खाल) बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो ।

डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको महानगरपालिकामा पेस भएको कागजातबाट देखिन्छ ।

घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए । त्यसक्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ । स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

पछि त्यो ठाउँमा शहरी विकास मन्त्रालयले पार्क निर्माणको काम थालेको थियो । स्थानीय समुदाय र गुठियारले कुलपूजा गर्ने ठाउँमा समन्वय नगरी शहरी विकास मन्त्रालयले एकलौटी रूपमा पार्क बनाउन खोजेको भनी उजुरी परेको थियो ।

ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय ज्यापु समुदाय र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको बताए । तर आग्रह अस्वीकार गरेपछि मन्दिरको जग्गा संरक्षणका लागि डोजर चलाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्