रास्वपामा महामन्त्री ढकालकै मुख बन्द

काठमाडौं,१९ असार । रास्वपाको केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले बिरोध जनाएका छन् ।

केहि दिनदेखि महामन्त्री ढकाल दवाबमा छन् । उनको मागलाई लिएर पार्टी दुई कित्तामा बाडिएको छ । ढकालले बुझाएको प्रतिवेदनका कारण पार्टी अहिले संकटमा छ । यसै बिषयलाई लिएर आज बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेको महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि बिरोध जनाएका हुन् ।

महामन्त्रीले मुखमा कालो टेप टाँसेर सांकेतिक बिरोध जनाएका हुन । उनले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रशारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आएपनि सभापतिले प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छन् ।

यस बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

उनको प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने कुरालाई उठाइएको छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ ।

ढकालले बैठकमा आफुले बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकिर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्