रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं,१९ असार । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आगामी असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३)को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।

यस शेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् लगानीकर्ताले साउन १० गतेसम्म कम्पनीको शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ । मिल्सको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्