तिमान खोलामा बाढीले काठेपुल बगाउँदा काबेंशिसहर-चामे सडक अवरुद्ध

काठमाडौं, १९ असार।  मंगलबार परेको भारी वर्षाले मनाङको तिमान खोलामा बाढी आउँदा काठेपुल बगाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले मंगलबार राति करिब ८ बजे पुल बगाएको हो ।

पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय प्रमुख सुवासकुमार लामिछानेले जानकारी दिए । ‘खोलाको बहाव घटेको छैन । पुल पनि भत्किएपछि यातायात पूर्ण रुपमा बन्द भएको छ’, उनले भने ।

खोलाको बहाव नघट्दासम्म बाटो खुल्नेबारे भन्न नसकिने लामिछानेको भनाइ छ । ‘अहिले वर्षा अलि कम भएको छ । तर पानीको बहाव नघट्दासम्म समस्या नै छ । अहिलेलाई कुनै वैकल्पिक बाटो छैन’, उनले भने, ‘अहिलेलाई यता साधन यतै र उताका साधन उतै रोक्न सूचना पठाइसकेका छौं ।’ पुल भत्किँदा लमजुङसँग मात्र नभई माथिल्लो मनाङको ३ वटा स्थानीय तहसँग सडक सम्पर्क पनि टुटेको प्नशासनको भनाइ छ ।

त्यस्तै तिमाङकै तल्लो क्षेत्रमा पर्ने तिमाङ झरनाले पनि एउटा पक्की पुलमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ । पक्की पुलमा भएको क्षतिबारे एकीन तथ्यांक भने नआइसकेको सीडीओ लामिछानले जानकारी दिए ।

यसअघि २०७८ मा आएको बाढीले सदरमुकाम चामे, तालगाउँ,धारापानी लगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । मनाङकै मर्स्याङ्दीमा पहिरो खसेर नदी थुनिँदा चामे र ताल बजार डुबानमा परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्