नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, १९ असार । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको बताए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको उनले जानकारी दिए।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

 

एमालेले मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर प्रचण्डले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् । यसले एमाले काँग्रेसको सहमतीको सरकार गठनलाई लाई थप लम्बाउने भएको ।

प्रतिक्रिया दिनुहोस्