सिण्डिकेट पक्षधर यातायात व्यवसायीको हड्ताल, देशभरको यातायात सेवा प्रभावित

काठमाडौं । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण देशभरको यातायात सेवामा असर परेको छ ।

सिण्डिकेट तोड्न सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका सबै यातायात समितिलाई कम्पनीमा जानुपर्ने समयसीमा सहितको निर्देशन दिएपछि रुष्ट बनेका सिण्डिकेट पक्षधारी व्यवसायीले गाडी चल्न नदिएका हुन् ।

सरकारले गाडी नचलाउनेको रुट परिमिट तत्काल खारेज गर्ने चेतावनी दिए पनि काठमाडौंमै पनि शुक्रबार बिहान कमैमात्र गाडी चलेका छन् ।

सरकार सिण्डिकेटविरुद्ध उभिएपछि यातायात व्यवसायी चरणवद्ध आन्दोलनमा छन् । गाडी नचलाएर सेवा नदिने सार्वजनिक सवारीको रुट परमिट नै खारेज गर्ने चेतावनी भने यातायात व्यवस्था विभागले दिएको छ । अत्यावश्यक सेवामा हड्ताल गर्ने सवारीको विवरण संकलन गर्ने गृह प्रशासनले जनाएको छ भने विभागले पनि टोली खटाइने जनाएको छ ।

सेवा रोक्ने सवारीको विवरण लिएर रुट परमिट खारेज गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले चेतावनी दिएका हुन् ।

समितिका गाडी नचलेका स्थानमा कम्पनीका बस चलाइने व्यवस्था मिलाइएको जनाइएको छ ।

सरकारले हालैमात्र अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने गरी राजपत्रमा सूचना समेत निकालेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा सिण्डिकेटधारी यातायात संघ तथा समितिहरुले समिति नवीकरण रोकेको र कम्पनीमा जान बाध्य पारिएको बिरोधमा देशभर सार्वजनिक यातायात ठप्प पार्ने भन्दै बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्