देशभर सीपमूलक कार्यक्रम चलाउने श्रममन्त्री डोलप्रसादको घोषणा
काठमाडौं, १४ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् । शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गरे ।
वैदेशिक रोजगारी जाने होस वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले बताए । ‘सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ । बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरु पुरा गर्न सक्छ,’ उनले भने, त्यसैले सीपमूलक कार्यक्रममा ठूलो लगानी गर्नुपर्नेछ ।’
मन्त्री अर्यालले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवद्र्धन र व्यवस्थित गर्न मन्त्रालयले रोजगार बैंकको वृहत् अवधारणालाई अघि सारेको बताए । बैंकमा वैदेशिक रोजगारीबाट फर्के सबै श्रमिकको तथ्यांक संकलन गरिनेछ ।
‘विदेशबाट फर्केका श्रमिक तथा उनीहरुको सीपको बारेमा तथ्यांक राखिनेछ । भारतबाट फर्केका श्रमिकको पनि तथ्यांक राखिनेछ । तथ्यांकअनुसार नै आन्तरिक रोजगारीको रणनीति तयार गर्नेछौं,’ उनले भने ।
कार्यक्रममा मन्त्री अर्यालले निलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले संविधानले व्यवस्था गरेको संघीयताको बल्ल उचित कार्यान्वयन भएको समेत बताए । ‘नगरपालिकाले मेला आयोजना गर्दा गौरव लागेको छ । यो मेलाले संविधानले परिकल्पना गरेको उद्देश्य प्राप्त भएको सुखद सन्देश दिएको छ,’उनले भने । निलकण्ठ नगरपालिकाले आयोजना गरेको मेलामा विभिन्न रोजगारदाता तथा सरकारी निकायको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्