सरकारलाई बुढीगण्डकीको काम चाडै अघि बढाउन बाबुराम भट्टराईको अल्टिमेटम

काठमाडौं, १४ असार । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।

सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा डा. भट्टराईले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका छन् ।

भट्टराईले बुझाएको तीन बुँदे मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ । अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन डा. भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए ।

सो टोलीमा सहभागी नेसपा नेता मानुषी यमी भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको काम भदौ मसान्तभित्र सुरु गर्न सरकारलाई अल्टिमेटम दिइएको जानकारी दिइन् । काम सुरु नभए सशक्त आन्दोलन गर्ने जानकारी पनि प्रधानमन्त्री प्रचण्डलाई गराइएको उनले बताइन् । ‘भदौसम्म पनि यसलाई सरकारले गम्भिरतापूर्वक नलिएमा असोज १ देखि आन्दोलनकै रुपमा जाने चेतावनी दिएका छौं,’ मानुषीले भनिन् ।

उनका अनुसार बुढीगण्डकी आयोजनामा सरकारको खर्च बढेको बढ्यै भए पनि प्रगती एकदमै न्यून छ । त्यसैले यसलाई तत्काल काम अघि नबढाए आयोजना ‘कोल्याप्स’ हुने खतरा रहेको उनले बताइन् ।

प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउनु अघि डा. भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए । ‘उहाँहरु सबैको सल्लाह सुझाव लिएर मागहरु प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको छ,’ मानुषीले भनिन्, ‘प्रधानमन्त्री ज्यूले चाहिँ मलाई तपाईंको सल्लाह चाहिएको बेला तपाईंले नै गम्भीरतापूर्वक ल्याएपछि काम गर्न सहयोग नै गर्छ भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्