पहिरोले कर्णाली राजमार्गको धरै ठाउँ अवरुद्ध

काठमाडौं, १४ असार । दैलेख जिल्ला वरपर गए रातिको परेको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडकमा आवागमन रोकिएको हो ।

दैलेख–कालिकोट खण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।

शुक्रबार बिहान ६ बजेमात्रै राजमार्ग अवरुद्ध भएको प्रहरीलाई खबर आएको थियो । राजमार्ग अवरुद्ध भएपनि दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन लागि परेका छन् ।

दैलेखको राकम बजारबाट जेसीबी लिएर समेत सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका दैलेखका डीएसपी न्यौपानेले जानकारी दिए । ‘दहीखोला र कालिखोलाबाहेक अन्य पाँच ठाउँमा सुख्खा पहिरो गएको छ । अहिले जेसिबी लिएर बाटो खुलाउने काम भइरहेको छ । अबको दुई/तीन घण्टाभित्र राजमार्ग सञ्चालनमा आउँछ, उनले भने ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् । सो सडक अवरुद्ध भएका कारण कर्णालीबासीको जनजिवनमा समस्या आएको छ ।

प्रतिक्रिया दिनुहोस्