देशैभर मनसुन सक्रिय, सतर्क रहन गृह मन्त्रालयको आग्रह

काठमाडौं, १२ असार। देशैभर मनसुन सक्रिय हुँदै गएको छ । देशका अधिकांश भागमा वर्षा हुन थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ ।

त्यसैको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ ।

आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार काठमाडौंमा आज दिउँसोको तुलनामा रातिमा बढी वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको नियमित बुलेटिनमा सबै प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्मै वर्षाको सम्भावना औंल्याइएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।

ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

रातीː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ्र

आगामी विहीबार पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रबार सुदूरपश्चिम प्रदेशमा समेत भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मौसम सक्रिय रहेको र भारि वर्ष हुनसक्ने हुँदा बाढि पहिरो आउन सक्ने संभावना प्रवल भएकाले सबैलाई सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्