पाकिस्तानको सेयर बजारमा देखियो उछाल

काठमाडौं,११ असार । पाकिस्तानको सेयर बजार उच्च गतिमा बढेको छ । पाकिस्तानको सेयर बजारले बुलिस ट्रेण्ड देखिएसँगै सन् २०२४ मा एसियाकै उत्कृष्ट प्रदर्शन गरिरहेको हो ।

देशको आर्थिक अवस्था सुधारका संकेतहरुले बजारको दृष्टिकोणलाई बलियो बनाएकाले पाकिस्तानी स्टकमा बुल रन देखिएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

पाकिस्तानको सेयर बजार उच्च गतिमा बढेपनि स्टकहरुको मूल्यांकन अझै पनि एसियाकै सबैभन्दा सस्तो रहेको छ । यसका साथै, बजेटले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट नयाँ ऋण प्राप्त गर्ने आधार तयार गरेका कारण बजार थप वृद्धि हुने विषय बलियो हुँदै गएको ब्लुमबर्गले लेखेको छ । यस्तै, स्थिर रुपैयाँ र मुद्रास्फीतिमा सहजताले करका दर कटौतीको सम्भावना बलियो हुनु बजारका लागि थप सकारात्मक पक्ष मानिएको छ ।

पाकिस्तानको ‘केएसई १००’ सूचकांकले यस वर्ष डलरका आधारमा २७% वृद्धिसहित अन्य एसियाली बजारहरुलाइ उछिनेको छ । सूचकले वर्षको अन्त्यसम्ममा थप १०% वृद्धि हासिल गर्ने सम्भावना रहेको ब्रोकरेज कम्पनीहरु टपलाइन सेक्युरिटिज र आरिफ हबिललाई उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ ।

  • एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्