काग्रेस एकढिक्का भएर फोहोरको डुङगुर सफा गरी स्वच्छ पार्टी बनाउने हो भने अहिले सरकारतिर ध्यान नदिऔं, घण्टी, सुर्य र माओवादीलाई छाडिदिऔैः गगन थापा

काठमाडौं, ११ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तलैबाट पार्टीमा एकता गर्नतिर केन्द्रित भएर आगामी आमचुनावमा कम्तिमा ४० प्रतिशत मत ल्याउने पार्टी बनाउनुपर्ने बताएका छन्।

पार्टीनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै थापाले सरकारतिर ध्यान दिन नहुने बताए।

अहिले जुन-जुन पार्टीले सरकार चलाइरहेका छन् उनीहरूलाई नै चलाउन दिनुपर्ने र कांग्रेस पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने थापाको भनाइ छ।

‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिऊँ। एमाले, माओवादी, घण्टी, जो—जोले चलाएका छन्, चलाउन दिऊँ,’ थापाले भने, ‘सरकारतिर हामी हेर्दै नहेरौँ र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ र बलियो पनि बनाऔँ।’

उनले तलैबाट पार्टीको एकता हुनुपर्नेमा जोड दिए।

‘२०८४ मा कम्तिमा पनि सय सिट जित्ने गरी र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौं भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने त्यो तागत पनि कांग्रेसले राख्छ,’ उनले भने।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जादुगर जस्तो गरी यता उफ्रिने, उता उफ्रिने गरेको टिप्पणी गरेका छन्।

‘यता मिल्ने, उता मिल्ने, ऊसँग मिल्ने कुरा छोडिदिऔँ। म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ,’ उनले भने, ‘यो उहाँहरुकै जिम्मा हो। यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ।’

प्रतिक्रिया दिनुहोस्