च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिड र लिभरपुल भिड्ने

रोमा (एजेन्सी) । लिभरपुलले च्याम्पियन्स लिगमा रोमालाई समग्रमा ७–६ ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का बनाएको छ । पहिलो लेगमा ५–२ को अग्रता लिएको लिभरपुलले दोस्रो लेगमा ४–२ ले पराजित भएपनि फाइनलमा स्थान पक्का गरेको हो । यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो ।
फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ । रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलको लागि स्थान सुरक्षित बनाएको थियो । फाइनल युकारेनको राजधानी किभमा २६ मेमा हुँदैछ ।

लिभरपुलले खेलको ९ औं मिनेटमा रोबर्टो फर्किनोको पासमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

घरेलु टोलीले १५ औं मिनेटमा जेम्स मिल्नरको आत्मघाती गोलमा बराबरी गर्यो । लिभरपुलका डिफेन्डर डेजान लोभ्रेनले क्लियर गर्ने क्रममा बल मिल्नरलाई लाग्दै गोल भएको थियो । लिभरपुललाई जोर्जिनियो वाईनाल्डमले क्लबका लागी पहिलो अवे गोल गर्दै पुनः अग्रता दिलाए । हेडरमा गोल गर्दै उनले २६ औं मिनेटमा लिभरपुललाई फेरी अग्रता दिलाए ।

घरेलु टोली रोमाले दोस्रो हाफमा पनि पोजेसन राख्दै गोल गर्ने थुप्रै प्रयास गर्यो । ५२ औं मिनेटमा इडेन जेकोले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यस्तै ८७ औं मिनेट र अतिरिक्त समयमा नाइगोलानले पेनाल्टीमा गोल गर्दै रोमाको पुनरागमनको आशा जोगाएपनि त्यो पर्याप्त रहेन । राग्नर क्लाभानले डि बक्समा ह्यान्ड गरेपछि रोमाले पेनाल्टी पाएको थियो।

प्रतिक्रिया दिनुहोस्