दुई देशको समझदारीबाट मात्रै इपिजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छः प्रधानमन्त्री दाहाल
काठमाडौं, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको बताएका छन्। उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताए।
विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएको पुरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय समहमतिका आधारमा अगाडि बढाइने बताए।
रूस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकहरूको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रूसी महासङघका काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालीहरूको रूसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेश गर्न कार्यदल समेत गठन गरिएको जानकारी दिए। उनले बन्धक बनाइएका नेपालीहरूका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको पनि बताए।
राजदूत नियुक्तीलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्दै उनले आगामी दिनमा यस कार्यलाई थप व्यवस्थित गरिने बताए।
प्रतिक्रिया दिनुहोस्