कुबेतमा घरेलु कामदार पठाउने कार्य तत्काल रोक्न मागः कांग्रेस सांसद धनराज गुरूङ

काठमाडौं, १० असार। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरूङले घरेलु कामदारका रूपमा नेपालीहरू कुबेतमा पुगेको बताएका छन्।

कुबेतमा अहिले ४१ हजार नेपाली महिला कामदार रहेकोमा २७ हजार गैरकानुनी रूपमा रहेको उनले बताए।

‘२७ हजार महिलाहरू गैरकानुनी रूपमा कुबेतमा रहेका छन्,’ कांग्रेस उपसभापतिसमेत रहेका गुरूङले प्रतिनिधि सभाको सोमबारको बैठकमा भने, ‘पछिल्लो छ महिनामा १० हजार नेपाली महिला घरेलु कामदारका रूपमा कुबेत पुगेका रहेछन्।’

सरकारले कुबेतमा घरेलु कामदारका रूपमा नेपालीहरूलाई नपठाउने भने पनि गैरकानुनी रूपमा उनीहरू पुगेकोले तत्काल रोक्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

‘घरेलु कामदारका रूपमा गैरकानुनी रूपमा उनीहरूलाई पठाउनु खेदजनक छ,’ उनले भने, ‘यसतर्फ सरकारको ध्यान आकृष्ट हुनुपर्छ।’ साथै उनले घरेलु कामदारका रूपमा महिलाहरूलाई कुबेत जान दिन नहुने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्