पुटिन र उत्तर कोरियालाई चुनौती दिदै दक्षिण कोरियाले युक्रेनलाई हतियार दिने संकेतले पुटिनको आक्रोश छताछुल्ल, भने यो ठूलो भुल हुनेछ

काठमाडौं , ७ असार।  रूस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरून्तै सैन्य सहायता पठाउने सम्झौता गरेका छन्। योसँगै दक्षिण कोरियाले युक्रेनलाई हतियार दिन सक्ने संकेत गरेको छ।

उत्तर कोरियाको दुई दिने भ्रमण क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शीत युद्धकालीन आपसी रक्षा सन्धि ब्युँताउने खालको सम्झौतामा हस्ताक्षर गरेका हुन्। त्यसको जबाफमा दक्षिण कोरियाले पनि युक्रेनलाई हतियार दिनेबारे पुनर्विचार गर्ने भनेको हो।

विश्वको सबभन्दा ठूलो हतियार उत्पादकमध्ये दक्षिण कोरिया एक हो। तर यसले युक्रेनलाई रूसविरूद्ध लड्न हतियार दिएको छैन। आफूसँग प्राविधिक रूपमा युद्धमा रहेको उत्तर कोरियासँग पुटिनले रक्षा सम्झौता गरेपछि भने दक्षिण कोरियाले युक्रेनलाई हतियार दिन सक्ने संकेत गरेको हो।

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो–जिनले रूस र उत्तर कोरियाको सम्झौताबारे प्रतिक्रिया दिँदै सो चेतावनी दिएका हुन्।

युक्रेन र नेटो राष्ट्रहरूले युक्रेनलाई हतियार दिन दक्षिण कोरियालाई धेरै पहिलेदेखि आग्रह गरिराखेका थिए। तर उसले मानवीय सहायता र जमिनमुनि बिछ्याइएका बम हटाउने उपकरण, ग्यास मास्कजस्ता गैर–घातक सामग्री मात्रै दिइरहेको छ।

दक्षिण कोरियाको वैदेशिक व्यापार ऐनले शान्तिपूर्ण उद्देश्य बाहेक हतियार बेच्न बन्देज लगाएको छ।

पोल्यान्डले युक्रेनलाई हतियार दिएपछि उसको भण्डार रित्तिएको थियो। गत वर्ष मात्रै उसले दक्षिण कोरियासँग हतियार किन्ने सम्झौता गरेको थियो। त्यस्तै अमेरिकालाई पनि दक्षिण कोरियाले गोलाबारूद दिएको थियो। आफूले दिएको गोलाबारूदको अन्तिम प्रयोगकर्ता अमेरिका नै हुने भन्दै दक्षिण कोरियाले दाबी गर्दै आइरहेको छ।

दक्षिण कोरियाले प्रत्यक्ष रूपमा युक्रेनलाई हतियार बेचेको वा दिएको छैन। उत्तर कोरियामाथि बलियो प्रभाव भएको रूसलाई चिढ्याउन नहुनेबारे दक्षिण कोरिया सचेत छ। त्यसैले पनि युक्रेनलाई प्रत्यक्ष रूपमा हतियार नदिएको हो।

अहिले रूसले उत्तर कोरियासँग सम्झौता गरेपछि भने दक्षिण कोरियाले युक्रेनलाई हतियार दिनेबारे पुनर्विचार गर्ने बताएको हो।

प्योङयाङपछि भियतनाम भ्रमणमा गएका पुटिनले हनोइमा पुगेर यसबारे प्रतिक्रिया पनि दिएका छन्। उनले दक्षिण कोरियाले युक्रेनलाई हतियार दिए त्यो उसको ठूलो भूल हुने बताएका छन्। त्यसो गरे दक्षिण कोरियालाई अप्रिय लाग्ने निर्णय लिन सक्ने चेतावनी पनि दिएका छन्। त्यस्तै दक्षिण कोरियाले उत्तर कोरियामाथि आक्रमण गर्ने कुनै योजना बनाएको छैन भने यो सम्झौताबारे चिन्ता लिनुनपर्ने पनि भनेका छन्।

पुटिनको उत्तर कोरिया भ्रमण क्रममा रूस र उत्तर कोरियाले शीत युद्धकालीन आपसी रक्षा सन्धि ब्युँताउने खालको सम्झौता गरेका हुन्। सन् १९६१ मा तत्कालीन सोभियत संघ र उत्तर कोरियाले गरेको सो आपसी रक्षा सम्झौता सन् १९९० मा सोभियत संघले दक्षिण कोरियासँग दौत्य सम्बन्ध स्थापना गरेपछि निष्क्रिय भएको थियो।

दुईमध्ये कुनै एक देशमाथि हमला भयो वा युद्धमा होमियो भने संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ अनुसार अर्को देशले आफ्ना सबै उपलब्ध उपाय प्रयोग गरी तुरून्तै सैन्य र अरू खालको सहयोग गर्नेछ, पुटिन र किमले हस्ताक्षर गरेको सम्झौताको धारा ४ ले भन्छ।

संयुक्त राष्ट्र संघको वडापत्रको धारा ५१ ले कुनै पनि सदस्य राष्ट्रलाई एकल वा सामूहिक रूपमा आत्मरक्षाको कार्य गर्ने अधिकार दिन्छ।

पुटिनले युक्रेनमाथिको आक्रमणलाई अहिलेसम्म युद्ध नभनेर विशेष सैनिक कारबाही मात्रै भनेकाले सम्झौता भए पनि अहिले नै युक्रेनसँग लड्न उत्तर कोरियाले सेना पठाउँदैन भन्ने बुझ्नुपर्ने हुन्छ।

अमेरिका लगायत पश्चिमा राष्ट्रले दुबै देशलाई आर्थिक नाकाबन्दी लगाएर अप्ठ्यारो पारेका बेला दुई नेताले आपसी सम्बन्ध झन् मजबुत बनाउन सो सम्झौता गरेका छन्। दुवै देशले अर्को राष्ट्रको स्वार्थमा आघात पुग्ने खालको सम्झौता तेस्रो देशसँग नगर्ने र आफ्नो भूमि एक(अर्काका विरूद्ध प्रयोग हुन नदिने वाचा पनि गरेका छन्।

किमले रूस भ्रमण गरेको नौ महिनापछि पुटिनले उत्तर कोरिया भ्रमण गरेका थिए। त्यसअघि सन् २०१९ अप्रिलमा किमले रूस भ्रमण गरेका थिए।

पुटिन भने २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा आएका थिए। सन् २००० मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएलगत्तै उनी उत्तर कोरिया गएका थिए। त्यति बेला त्यहाँ किमका बुबा किम जोङ इलको शासन थियो।

उत्तर कोरिया तत्कालीन सोभियत संघकै कारण बनेको थियो। तर कुनै सोभियत सरकार प्रमुखले उत्तर कोरिया भ्रमण गरेका थिएनन्। कोरिया कब्जा गरेको जापानले दोस्रो विश्व युद्धको अन्त्यमा आत्मसमर्पण गरेपछि कोरिया विभाजन भएको थियो। उत्तरपट्टिको भाग सोभियत संघको नियन्त्रणमा थियो भने दक्षिण अमेरिकाको। किमका हजुरबुबा किम इल सुङले एकीकरण गरेर कम्युनिस्ट कोरिया बनाउन सोभियत संघकै भरमा सन् १९५० मा दक्षिण कोरियामा आक्रमण गरेका थिए।

सोभियत संघले उत्तर कोरियालाई हतियार मात्रै दियो। केही पाइलट सहितका लडाकु विमानले युद्धमा भाग लिए। तर सोभियत संघले प्रत्यक्ष रूपमा सो युद्ध लडेन। दक्षिण कोरियाका लागि भने अमेरिकाले सेना पठाएरै लड्यो। युद्धका क्रममा अमेरिकी सेना उत्तर कोरियाभित्र छिरेर कम्युनिस्ट चीनकै सीमाछेउ पुगेको थियो। त्यसपछि चीन पनि उत्तर कोरियाको पक्षमा युद्ध मैदानमा ओर्लिएको थियो।

सन् १९५३ मा अमेरिका, उत्तर कोरिया र चीनबीच युद्धविराम भयो। दक्षिण कोरियाले भने युद्धविराममा हस्ताक्षर नगरेकाले प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धमै छन्।

दोस्रो विश्वयुद्धपछि अमेरिका बराबरको महाशक्ति बनेको सोभियत संघका लागि उत्तर कोरिया आफूमा आश्रित सानो कम्युनिस्ट राष्ट्र मात्रै थियो।

प्रतिक्रिया दिनुहोस्